पोखरामा खानेपानी पाईप विस्तार गर्न बजेट अभाव

पोखरा, असार २५ ।
खानेपानीको पाईप मेनलाईन तथा नेटवर्क विस्तारको काम आर्थिक अभावले रोकिएको छ । खानेपानी संस्थान पोखराले खानेपानी अभाव पूर्ति गर्न २० इन्चको डिआई पाईप विस्तार गर्न शुरु गरेको छ । पाईप विस्तार कार्य सृजनाचोकमा पुगेर यो आर्थिक वर्षको लागि टुग्याइएको छ । आगामी वर्ष पृथ्वीचोकसम्म विस्तार गर्ने योजना खानेपानी संस्थान पोखराले बनाएको छ । यद्यपी पुरानो सानो साईजको पाईपबाट खानेपानीको वितरण भईरहेको छ ।

खानेपानी संस्थानले पोखराको विन्ध्यवासिनी मन्दिर परिसरको ट्यांकीदेखि जिरोकिलोमिटर हुदैं सृजनाचोकसम्म विस्तार गरिएको संस्थानका प्रमुख निरन महर्जनले बताए । ‘यो वर्षको बजेटले भएको स्टक पाईप विस्तार गरिएको हो ।’ उनले भने–‘माग अनुसारको बजेट आयो भने तीन चारवर्षभित्रमा पाईप विस्तार गर्ने योजना सक्ने थियौं ।’

संस्थानले झण्डै ३ सय किलोमिटर क्षेत्रमा पाईप विस्तार गर्नुपर्ने खाँचो औल्याएको छ । खानेपानीको सहज आपूर्तिको मर्दीको मुहानदेखि बजार क्षेत्रसम्म ११० किलोमिटर पाईप जडान गरिएको छ । अझै २ सय किलोमिटर पाईप विस्तार गर्नुपर्ने खाँचो छ । पाईप विस्तार गरेपछि सबै ठाँउमा आवश्यकता अनुसार पानीका उचित वितरण हुने खानेपानी संस्थान पोखराका प्रमुख महर्जनले सुनाए ।

सबै क्षेत्रमा पाईप विस्तार गरे साविकको पोखरा उपमहानगरपालिकाका १८ वटा वडाका घरहरुको धारामा पानी सहज उपलब्ध हुने बताए । ‘पाईप विस्तार गरिएको अवस्थामा प्रत्येक घरमा ८ घण्टा धारामा पानी आउँछ ।’ उनले भने–‘तर अहिले एक दिन बिराई पानी उपलब्ध भईरहेको छ ।’ बजार क्षेत्रमा अहिले १६ इन्चको पुरानो पाईप मार्फत पानी वितरण हुदैं आएको छ ।

‘खानेपानीको मेनलाईन विस्तार गर्दै नेटवर्किङ गरिरहेका छौं ।’ खानेपानी संस्थानका प्राविधिक अधिकृत दिनेशप्रसाद यादवले भने । उनका अनुसार बजार क्षेत्रभित्र मेनलाईन नै नहुदाँ नेटवर्क विस्तार हुन सकेको छैन् । अब भने केही सहज हुेन विश्वास उनले लिएका छन् ।

संस्थानमा स्टक रहेको २० इन्चको पाईप जहाँसम्म हुन्छ त्यहीसम्म मेनलाईन विस्तार गरिने प्राविधिक अधिकृत यादवले बताए । बजार क्षेत्रमा विस्तार गरिएको पाईप निकै महंगो पर्छ । प्रतिमिटर २० हजार रुपैयाँसम्म पर्छ । एउटा पाईप ६ मिटर लम्बाईको हुन्छ । माग गरे अनुसार बजेट उपलब्ध गराईदिए पाईप विस्तार गर्नेकाम तीन वर्षभित्रमा सकेर खानेपानीको अभावलाई टार्न सकिन्थ्यो । यद्यपी अहिले महानगरपालिका ३३ वटा वडा छन् । ती सबै वडामा खानेपानीको पाईप विस्तार गर्न अर्बौ रुपैयाँ खर्च हुने छ ।

खानेपानी जस्तो आधारभूत आवश्यकतालाई पुरा गर्न सरकारले कन्जुस्याँई गरेको संस्थानका प्रमुख महर्जनले गुनासो गरे । पाईप विस्तार गर्न तीन अर्ब रुपैयाँ भन्दा बढी खर्च लाग्छ । तर सरकारले वर्षेनी ४ करोड मात्रै बजेट उपलब्ध गराउँदै आएको छ । चार करोडको बजेटले पाईप विस्तार गर्ने काम प्रभावकारी देखिदैन् । ‘हामीले वार्षिक ४० देखि ५० करोड बजेट माग्दै आएका छौं ।’ उनले भने–‘तर सरकारले केवल ४ देखि ५ करोड मात्रै उपलब्ध गराउँदै आएको छ ।’

संस्थानले जापानिज संस्था(जाईका) को सहयोगमा २० इन्च खानेपानीको पाईप विस्तार गरिएको थियो । पाईप खानेपानी मुहान मर्दीखोलादेखि विन्ध्यवासिनी मन्दिर नजिकै रहेको रिर्जभवायरसम्म विस्तार गरिएको हो । बाँकी रहेको पाईपलाई संस्थानले बजार क्षेत्रमा विस्तार गरिरहेको छ । पाईप विस्तार गरेपछि खानेपानीको समस्या समाधान हुने निष्कर्ष खानेपानी संस्थानको छ । पाईप विस्तार नहुदाँसम्म पानीको अभाव एवं उचित वितरणमा कठिनाई हुने ठहर समेत संस्थानले गरेको छ ।

विस्तार गरिएको २० इन्चको पाईपबाट एककरोड ८० लाख लिटर पानी आउने संस्थानका प्रमुख महर्जनले बताए । जसले साविक उपमहानगरपालिका १८ वटै वडामा ८ घण्टाको दरमा पानी आपूर्ति हुन्छ । अहिले दैनिक औसत साढे पाँच करोड लिटर पानीको आपूर्ति भईरहेको छ । हिउँद पाँच करोड लिटर आपूर्ति हुन्छ । मर्दी खोला पोखराबासीको स्थायी खानेपानी मुहान हो । अन्य केही मुहान भने हिउँदको समयमा सुख्दै जादाँ आपूर्ति कम हुने गर्छ ।

पोखराको खानेपानी समस्या समाधान गर्न जापानिज संस्था जाईकाले सहयोगी भूमिका खेल्दै आएको छ । जाईकाले पोखराबासीको लागि शुद्ध खानेपानी वितरणको लागि समेत काम गर्दै आएको छ । सन २०२१ सम्म सक्ने योजना छ । जुन योजना खानेपानीको शुद्धिकरण गरी वितरण गर्ने हो । पानी शुद्धिकरणको लागि जाईकाले आवश्यक टेण्डर प्रक्रिया जापानमै टुग्याएर जापानीज कन्सल्टेन्सीलाई दिने छ । पोखरा पस्र्याङस्थित धर्मस्थली, फुलबारी र कोलपाटनमा वितरण केन्द्र स्थापना गरी खानेपानी आपूर्ति गर्ने जाईकाको योजना रहेको संस्थानले जनाएको छ । योजनाको लागि पाँच अर्ब खर्च हुने प्रारिम्भक अनुमान छ ।