खेमराज पौडेलः देउवा पक्षका तर रामचन्द्रले हार्न नसक्ने नेता

पोखरा, कार्तिक २२ ।
मलेसियामा अहिले ९३ वर्षीय वृद्ध मोहम्मद महाथिर प्रधानमन्त्री छन् । राजनीति छाडेको १५ वर्षमा फेरि राजनीतिमा नै फर्किएका महाथिरलाई मलेसियाली जनताले प्रधानमन्त्री बनाइदिए । उमेर र राजनीतिको बहसकाबीच उनको पुनरागमनको चर्चा विश्वभरि नै भयो ।

मलेसियाको जस्तो राजनीतिक पद्धति त नेपालमा नहोला । तर, नेपालमा पनि नेताहरुको उमेरहदको बहस भने चलिरहन्छ, चलिरहेको छ । सबैभन्दा बढी चर्चा चुनावी छेकोमा हुने गरेको छ । र, नेपालमा आउँदो मंसिर १४ मा उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनमा देशले नै चासोका रुपमा लिएको छ, कास्की २ को प्रतिनिधिसभा निर्वाचन । बहालवाला पर्यटनमन्त्री रवीन्द्र अधिकारी निर्वा्चित यस क्षेत्र, गएको फागुन १५ मा अधिकारी हेलिकोप्टर दुर्घटनामा परी दिवंगत भएपछि रिक्त छ । रिक्त स्थान पूर्तिको लागि मंसिर १४ गते मतदान हुँदैछ ।

सोही उपनिर्वाचनको लागि यहाँ हालसम्म ६ वटा पार्टीले उमेदवार घोषणा गरिसकेका छन् । उमेदवार घोषणा भने कांग्रेसले अन्तिममा मनोनयन दर्ताको एकदिनअघिमात्रै गरेको छ । उमेदवार को बन्लान भन्ने बहसको विषयका बीच कांग्रेसले खेमराज पौडेललाई टिकट दिएको घोषणा ग¥यो । त्यसपछि सामाजिक सञ्जालमा प्रतिक्रियाको बाढी नै आयो । ७५ वर्षीय पौडेल विगत ६ दशकदेखि राजनीतिमा सक्रिय छन् । उनी १६ जना आकांक्षीबाट टिकट पाएका हुन् ।

त्यागी नेता

७० वर्षको कांग्रेस पार्टीको राजनीतिमा खेमराज पौडेल ६० वर्षदेखि सक्रिय छन् । यतिलामो समयसम्म पनि सक्रिय राजनीति गर्ने पौडेल त्यागी नेताको रुपमा जिल्लामा चित्रित थिए । उनले अहिलेका कांग्रेस सभापति शेरबहादुर देउवासँगै राजनीति सुरु गरेका थिए । बुधबार टिकट हातमा परेपछि उनी पोखरातिर आएर मनोनयन दर्ता गराए ।

जीवनमा नै पहिलोपटक संसदीय चुनावमा भिड्न लागेका पौडेलसँग बाह्रखरीले उनको राजनीतिक इतिहासको बारेमा जानकारी लिने प्रयास गरेको थियो । तपाईँको राजनीतिक सुरुवात कसरी भयो ? भन्ने प्रश्नमा पौडेलले भने, “म २०१६ सालबाट नेपाली कांग्रेसको राजनीतिमा लागेको हुँ । अझै पनि लागिरहेको छु । कास्कीको हकमा जिल्लाको कार्यसमिति सदस्यदेखि उपसभापति, महासमिति सदस्य पनि भएँ ।” तर, शेरबहादुर देउवाले प्रजातान्त्रिक कांग्रेस गठन गरेपछि पौडेल पनि उतै लागे र कास्कीको सभापति पनि भए । पार्टीमा उनी आमन्त्रित केन्द्रीय सदस्य सम्म बने ।

बीपीसँगको यात्रा

विद्यार्थीकालीन राजनीतिमा भने उनी त्यति सक्रिय भएनन् । तर, पार्टी विभाजनपछिको नेपाली विद्यार्थी संघको संस्थापक सदस्य बनेका थिए । पौडेलले बनारसमा अध्ययन गरेका हुन् । अध्ययनकै क्रममा उनले बनारसमा नै सुवर्ण शमसेरदेखि विश्वेरप्रसाद कोइरालासँग पनि भेटे । तत्कालीन राजा महेन्द्रले बीपीलाई नजरबन्द गरेका थिए । बीपी रिहा भएपछि २०२६ सालमा पौडेलले भेटे । त्यसपछि उनको चिनजान आजीवन रह्यो । “बनारसमा नै भेट भइरहन्थ्यो । पार्टीका कुराहरु हुन्थे । सरसल्लाह भइरहन्थ्यो,” उनी सम्झिन्छन ।

कांग्रेस बन्न शिक्षक जागिरलाई तिलाञ्जली

प्रौढावस्थाका पौडेलले त्यतिबेला पोखराको प्रौढ माविमा नै पढाउँथे । अहिले उक्त विद्यालयको नाम नवप्रभात राखिएको छ । त्यहाँ उनले पूर्वसभामुख तारानाथ रानाभाटसँगै अध्यापन गरे । त्यसपछि राष्टि मावि, अमरसिंह हुँदै छोरेपाटनसम्म २० वर्षसम्म अध्यापन गराए । पार्टीमा त्योबेला शिक्षकहरुलाई क्रियाशील सदस्य दिनहुन्न भन्ने अभियान थियो । त्यतिबेलाका सभापति थिए कृष्णप्रसाद भट्टराई । पार्टीले शिक्षकलाई क्रियाशीलता नदिने भनेर फाराम पनि बन्द गरिदियो । उनले बरु जागिर छाड्छु पार्टीमा लाग्छु भने । जागिर छाड्ने निर्णय गर्दा उनको शिक्षकको सेवाअवधि पुग्न जम्मा साढे तीन महिनामात्र बाँकी थियो । उनले पेन्सनको पनि बेवास्ता गरे । तर, पछि निवेदन दिएर पेन्सन पकाए ।

तीनपटक जेलयात्रा

कांग्रेस राजनीतिमा नै उमेर पकाएका पौडेल विभिन्न कालखण्डमा तीनपटक जेलजीवन पनि भोगे । उनी सम्झिन्छन्, “२०४२ सालको सत्याग्रहमा पक्रिएको थिएँ । पञ्चायती शासनमा राजाको जन्मोत्सव त्याग्ने पार्टीको कार्यक्रम थियो । त्यतिबेला पनि पक्राउ परेँ । २०६२–०६३ को आन्दोलनमा पनि जेल परेँ ।”

गढमा विजयको आश

पहिलोपटक निर्वाचनमा भाग लिएका पौडेलको उमेर र जोश भने अमिल्दो छ । चुनावमा भाग लिने र जितिछाड्ने दाबी गर्दा उनको आवाज उस्तै दमदार थियो । पहिलोपटक टिकट पाउनुभयो, चुनाव जित्नुहुन्छ ? आधार के छन् ? भन्ने प्रश्नमा उनको जवाफ थियो, “मेरो एउटा के धारणा भयो भने मैले गरेको लगानी र योगदानको मूल्यांकन पार्टीले गर्नेछ, र ग¥यो पनि । चुनाव जित्ने आधार भनेको जनता नै हो । अहिलेको सरकार, गलत क्रियाकलापमा लागेको छ, राम्रा काम जनप्रिय कामहरु भएका छैनन् । अर्कोतर्फ कांग्रेस एकढिक्का छ । आकांक्षी १६ जना भएता पनि हामीले जसले टिकट पाएता पनि चुनाव जिताउन एक भएर लाग्नेछौँ भनेका थियौँ, सबै साथीहरु आकांक्षीहरु एकबद्ध भएर लाग्नुहुन्छ । उहाँहरु सबै एकजुट भएर लाग्ने खालको काम हुन्छ । पार्टीमा कुनै खालको त्यस्तो अस्पष्टता हुँदैन । यही नै बलियो आधार हो ।”

उनको दाबीमा कतिको सत्यता छ, त्यो भने कुर्नैपर्छ । यो क्षेत्रमा दिवंगत रवीन्द्र अधिकारी लगातार तीनपटकसम्म विजयी भएर कम्युनिष्टको गढ भएको प्रमाणित गरिदिएका थिए ।

देउवा पक्षका, रामचन्द्रले हार्न नसक्ने नेता

खेमराज पौडेल नै सायद कास्कीका यस्ता नेता होलान, जो देउवा पक्षका हुन्, तर रामचन्द्रले पनि हार्न सक्दैनन् । उनले टिकट पाउने भएपछि सबैभन्दा टिकटका अर्का बलिया दाबेदार मानिएका देवराज चालिसेले फेसबुकमा अग्रिम बधाई र शुभकामना नै दिए ।

पार्टीमा लामो त्याग भएको तर पार्टीले मूल्यांकन नगरेको नेता भनेर चिनिएका पौडेललाई अन्तिममा आएर उनका सहयात्री देउवाले टिकट थमाए ।

केही दिनअघिमात्र कास्कीमा आएका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले त्यागी नेताको उपमा दिँदै मूल्यांकन नभएका नेताको रुपमा उनै पौडेललाई देखाएका थिए । भलै, पौडेल रामचन्द्रका नभई सुरुदेखि नै देउवाका सहयात्री हुन् । देउवा पक्षका भएता पनि पौडेलको हकमा भने छुट्टै सहानूभुति रहेको कांग्रेस कार्यकर्ताहरुको भनाइ छ । सहानूभुति, पार्टीको संगठन बलियो बनाएर अगाडि बढेको खण्डमा जित हासिल गर्न सकिने दाबी कांग्रेसको छ । पत्रकार विशन क्षेत्रीले १२ खरीका लागि समाचार लेखेका हुन् ।