कास्की प्रहरीलाई अर्को सफलता, ठूलो मात्रामा लागू औषध बरामद

पोखरा, जेठ ३१ ।
१ हजार ४ सय ६४ थान लागू औषध सहित पोखराबाट २ जना पक्राउ परेका छन् । अहिले दिनहुँजसो पोखराबाट लागू औषध बरामद हुने क्रम बढेको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पताल नजिकै डेरा गरि बस्ने डेभिड तामाङ र दावानुर्फी लामालाई पक्राउ गरेको हो । उनीहरुले प्रयोग गर्ने ग २ च २५९५ नम्बरको कार पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

कारोबारमा संलग्न अर्का एकजना चाही फरार छन् । लागूऔषध कारोबार भैरहेको गोप्य सूचनाको आधारमा कास्की प्रहरीका असई सन्तोष सुवेदीको कमाण्डमा गएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका तामाङको साथबाट फेन्सिडिल ३ सय ३८ थान, डाइजापाम ४ सय ५० थान , नर्फिन र फेनारगन पनि सोही मात्रामा र नाइट्रोसन १ सय थान सहित १६ हजार ७ सय ७५ रुपैयाँ नगद बरामद गरेको छ । तामाङले डेरा गर्दै आएको ठाउँबाट लागूऔषध बेचविखन हुने गरेको प्रहरीले जनाएको छ ।

बुधबार पनि प्रहरीले उत्तमचोकबाट लागू औषध सहित कारोबारी पक्राउ गरेको थियो भने अमरसिंहबाट महिला कारोबारी पक्राउ परेकी थिईन् । उत्तमचोकबाट गोविन्द थापालाइ पक्राउ गर्न गोली नै चलाएको थियो भने देवीकुमारी गुप्तालाई अमरसिंहबाट पक्रेको हो । उनीहरुको साथबाट २ हजार ४ सय थान लागुऔषध बरामद गरेको थियो ।